चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘पुजार सार्की’ देखि ‘अन्जिला’ सम्म छनोट



काठमाडौं – ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने नाराका साथ सुरु भएको ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ आगामी वैशाख ४ गतेदेखि ६ गतेसम्म रसुवाको धुन्चेमा आयोजना हुने भएको छ । महोत्सवमा छनोट भएका चलचित्रलाई एक विशेष कार्यक्रममार्फत प्रमाणपत्र प्रदान गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, काठमाडौँमा सम्पन्न प्री-इभेन्ट कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन समेत गरियो । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ पत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार सङ्घ नेपालका उपाध्यक्ष कुवेर गिरि लगायत थुप्रै चलचित्रकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ग्रामीण सिनेमाको विकासप्रति सकारात्मक चर्चा भयो ।

सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार, यो महोत्सव विगत चार वर्षदेखि सिनेमा हल नपुगेका जिल्लाहरूमा गाउँमै निर्माण गरिएका लघु चलचित्र, डकुमेन्ट्री र फिचर चलचित्रलाई अत्याधुनिक प्रविधिमार्फत गाउँले दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनेश डिसीले गाउँमै पुगेर चलचित्र देखाउने यो प्रयास महत्त्वपूर्ण रहेको बताउँदै नेपाली चलचित्रको प्रचारप्रसारमा यस्ता कार्यक्रमले ठुलो योगदान पुर्‍याउने बताए ।

गोरखा लाप्राकबाट सुरु भएको महोत्सव दोस्रो पटक काभ्रेको भकुण्डेबेसी, तेस्रो पटक रामेछाप नगरपालिका हुँदै अब रसुवाको गोसाईंकुण्ड गाउँपालिका, धुन्चेमा पुग्न लागेको हो । महोत्सव संयोजक कमल एक्चै मगर र चलचित्र निर्देशक ऋषि लामिछानेको नेतृत्वमा बनेको जुरी कमिटीमा रक्षा सिंह राणा र शैलेश श्रेष्ठ सदस्य रहेका छन् ।

चलचित्र प्रदर्शनसँगै महोत्सवमा गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता र समापन समारोहमा साङ्गीतिक कार्यक्रम समेत आयोजना हुनेछ ।

यस वर्ष महोत्सवमा छनोट भएका चलचित्रहरू यसप्रकार छन्:

फिचर चलचित्र:

• बोक्सीको घर – सुलक्षण भारती

• पुजार सार्की – दिनेश राउत

• ज्वाईं साब – बसन्त निरौला

• अन्जिला – मिलन चाम्स

• द्रौपदी – ऋषिराज आचार्य

• फिरफिरे फिरीरी – नविन भट्ट

लघु चलचित्र:

• विजेता – दिनेश लामा

• एक जोर जुत्ता – मोहन अभिलासी

• घटेरो – पुरुषोत्तम बस्नेत

• म कमरेड – निर्मल पौडेल

• शल्यक्रिया – विवेक नगरी

• मनको घर – राज गुरुङ

• आमा – परिच्छेद सेन

• देविया – शंकर धिताल

• प्याकुली – नितिन चन्द

• जुनेली – देवेन्द्र पाण्डे

डकुमेन्ट्री चलचित्र:

• माता – अरुण कुमार प्रधान

• माझी – शबिर श्रेष्ठ

• गर्ल्स रि-राइटिंग डेस्टिनी – लव प्याकुरेल

• गल्कोट – आकाश थापा मगर

भाषिक चलचित्र:

• लोजिमा – सागर सुब्बा

• आप्लेंग्ला लाम्सा – अजय स्याङ्तान

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu