
काठमाडौं – कमलपोखरीस्थित सिटी सेन्टरमा ‘१८ डी सिनेमा’ को उद्घाटन गरिएको छ । यो हलले दर्शकहरूलाई चलचित्रको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।
नयाँ वर्षको अवसर पारेर अभिनेता राजेश हमालले उद्घाटन गरेको यस हलमा दर्शकहरूले दृश्य, ध्वनि, गति, हावा र कम्पनको साथ फिल्मको वास्तविक संसारमा प्रवेश गरेको अनुभव गर्न सक्नेछन् । ‘फ्लाइओभर इन्टरटेन्मेन्ट’का राम थापा र हिमाल गुरुङले सञ्चालनमा ल्याएको यो हलमा एक पटकमा १० जनाले मात्र चलचित्र हेर्न सक्नेछन् । सञ्चालक गुरुङका अनुसार, यहाँ दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जङ्गल एडभेञ्चरजस्ता रोचक र साहसिक चलचित्रहरू ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन् ।
अभिनेता हमालले १८ डी सिनेमाको अनुभव लिँदै भने, “यो प्रविधिले मलाई फिल्मको हरेक दृश्यमा आफूलाई समावेश भएको महसुस गरायो । यो अनुभव एकदमै रोमाञ्चक थियो ।”