
काठमाडौं – नेपाली चलचित्र उद्योगमा एक दशकदेखि आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता पल शाहले अब निर्माताको रूपमा नयाँ यात्रा सुरु गरेका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो पहिलो चलचित्र निर्माणको घोषणा गरेका छन् ।
‘पल शाह फिल्म्स’ ब्यानरमा निर्माण हुने यो चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ, जसको निर्देशनको जिम्मेवारी विकास सुवेदीले पाएका छन् । सुवेदी शाहका सङ्घर्षकालीन साथी हुन् । उनले यसअघि ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता चर्चित चलचित्रहरूको स्क्रिप्ट लेखेका छन् र सयौँ म्युजिक भिडियोको निर्देशन गरेका छन् । सुवेदीले तीन वटा चलचित्रहरू निर्देशन गर्दै छन् । ‘यानीमाया’ नै डेब्यु हुन्छ वा अन्य चलचित्र हुन्छ त्यसमा भने सुवेदी अझै प्रस्ट छैनन् ।
यो चलचित्र पारिवारिक ड्रामामा आधारित हुनेछ, जसको कथा र स्क्रिप्ट स्वयं निर्देशक विकास सुवेदीले तयार पारेका हुन् ।
असारबाट छायाङ्कन सुरु हुने यस चलचित्रमा पल शाह नै प्रमुख भूमिकामा रहनेछन् भने अन्य कलाकारहरूको छनौट प्रक्रिया जारी रहेको बताइएको छ ।