
काठमाडौं – निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि दसैँको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब फागुन १ गतेबाट भ्यालेन्टाइन डेको अवसरमा दर्शकमाझ आउने भएको छ ।
निर्देशक शर्माले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । उनले भने, ‘दसैँमा धेरै फिल्महरू एकै पटक रिलिज हुने भएपछि सबै निर्माता साथीहरू सुरक्षित होउन् भन्ने उद्देश्यले फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको हो । हामीले सहमति जुटाउने प्रयास गर्दा पनि कोही पछि हट्न तयार नभएपछि ‘डबल ट्रिपल’ फागुन १ गते रिलिज हुनेछ।’
यस चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल र सुरवीर पण्डितको अभिनय रहेको छ । कथा/पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।
शम्भुजित बास्कोटाको सङ्गीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाङ्कन, राजु किराँतीको एक्सन र सुनिल क्षेत्रीको नृत्य निर्देशन रहेको छ । नगेन्द्र घिमिरे फिल्मका निर्माण नियन्त्रक हुन् भने किरण शर्मा पौड्याल, कीर्ति शर्मा र अङ्कित शर्मा निर्माता हुन् ।