
काठमाडौं – आगामी जेठ ९ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को अभिनेत्री नीति शाहको आकर्षक मुस्कानसहितको फस्टलुक सार्वजनिक गरिएको छ । पात्रको परिचय गराउने उद्देश्यसहित सार्वजनिक लुक्स पोस्टरमा नीतिलाई परम्परागत पहिरनमा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा उनको भूमिका प्रेम र सम्बन्धको वरिपरि घुम्ने सङ्केत दिन्छ । तर, उनको जोडी को हुन् भन्ने रहस्यलाई निर्माण पक्षले अहिले सम्म खुलासा गरेको छैन ।
अभिनेता राजेश हमालसँग स्क्रिन शेयर गर्न पाउँदा उत्साहित नीतिले यो अनुभवलाई आफ्नो लागि विशेष अवसरको रूपमा लिएको बताएकी छिन् । दिवाकर भट्टराईको निर्देशनमा बनेको यस चलचित्रमा राजेश र नीतिसहित निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, र राजीव जङ्ग बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यसको कथा चन्द्र पन्तले लेखेका हुन् भने फिल्मको छायाङ्कन राजु विक्रम थापाले गरेका हुन् । राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको सङ्गीत र कविराज गहतराजको नृत्य निर्देशन रहेको यस चलचित्रलाई दर्शकहरूले चासोका साथ हेरेका छन् ।