
काठमाडौं – जेठ ९ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘नरसिंहाः अवतार’का दुई रोमाञ्चक नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा यस चलचित्रमा मुख्य भूमिकामा रहेका राज कटुवाल र सनिषा भट्टराईको जोडीलाई रोमान्टिक केमेस्ट्रीमा प्रस्तुत गरिएको छ । यो पोस्टरलाई राकेश दाहालले रूपमा डिजाइन गरेका छन्, जसले फिल्मको एक्सन र रोमान्स दुवै पक्षलाई उजागर गरेको छ ।
चलचित्र विकास बोर्ड सदस्य समेत रहिसकेका कटुवाल यस चलचित्रबाट नेपाली चलचित्र उद्योगमा बलियो छाप छोड्ने लक्ष्यमा छन् । उनले यसमा महानायक राजेश हमालसँग स्क्रिन साझेदारी गरेका छन्, जसले उनको अभिनय यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ । यस्तै, चलचित्र ‘१२ गाउँ’को सफलतापछि सनिषा भट्टराई ‘नरसिंहाः अवतार’ मार्फत थप चर्चामा आउने तयारीमा छिन् ।
दिवाकर भट्टराईको निर्देशनमा तयार भएको ‘नरसिंहाः अवतार’ मा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी रहेको छ । यो चलचित्रमा राजेश हमाल, सरोज खनाल, निर शाह, नीति शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जङ्ग बस्नेत, प्रकाश कुँवर र दीपा शाही जस्ता वरिष्ठ कलाकारहरूको अभिनय रहेको छ ।