
काठमाडौं – जुम्लाको रमणीय दृश्यमा छायाङ्कन भइरहेको चलचित्र ‘कल्ली’को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रलाई आउँदो वर्षको कात्तिक २१ गतेबाट देशव्यापी प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । तिहारको रौनक सकिएपछि दर्शकले यो फिल्म हलमा हेर्न पाउनेछन् ।
काफिया फिल्मस् र कुबेर फिल्मस्ले काठमाडौं र मोफसलमा फिल्मको वितरणको जिम्मा लिएका छन् । प्रस्तुत कर्ता किरण नेपालीले वितरकहरूसँगको छलफलपछि प्रदर्शन मिति तय गरिएको बताए । हिमाल कडरिया र अमला देवी राईले निर्माण गरेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । महेश दवाडीले लेखेको यो स्क्रिप्टले दर्शकलाई जुम्लाको मौलिक परिवेश र रहस्यमय कथामा लैजाने अपेक्षा गरिएको छ ।
यसमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ ।