
काठमाडौं – काभ्रेको बनेपामा बन्ने देशकै ठुलो र अत्याधुनिक इनडोर फिल्म स्टुडियो निर्माणको लागि ९ वटा योग्य कम्पनीहरूको आवेदनलाई प्रक्रियाको लागि छानिएको छ । यस महत्त्वाकाङ्क्षी परियोजनाको लागि १४ वटा आवेदनहरू मध्येबाट ९ वटाले प्रतिस्पर्धा गर्ने भएका हुन् । चलचित्र विकास बोर्डका अनुसार आगामी वैशाख ३ गते यी ९ कम्पनीहरू मध्येबाट उत्कृष्ट कम्पनीको छनौट गरिनेछ ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको यो स्टुडियोको योजना लामो समयदेखिको भएता पनि अब भने सन् २०२६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत असार २८ गतेको मन्त्रिपरिषद्को निर्णयले स्टुडियो निर्माणको लागि आवश्यक दुई हेक्टर वन क्षेत्रको जग्गा उपलब्ध गराएको थियो । बनेपा नगरपालिका वडा नं. १० र १३ मा रहेको बाहुन डाँडा सामुदायिक वनको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको थियो । साथै, आर्थिक वर्ष २०८०/८१ को बजेटमा समेत यो परियोजनालाई समावेश गरिएको थियो ।
स्टुडियोको निर्माण लागत ३९ करोड रुपैयाँ अनुमान गरिएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले यो स्टुडियोले नेपाली चलचित्रको गुणस्तरमा ठुलो परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।