
काठमाडौं – कोरोना महामारीअघि नेपाली चलचित्रका ‘डिमान्डेड’ अभिनेता आकाश श्रेष्ठले लगातार चलचित्रमा काम गरिरहेका थिए । तर, केही चलचित्रको असफलता र अभिनयको आलोचना बढ्न थालेको समयमा उनी चलचित्रबाट टाढिए । उनी चलचित्रलाई कम समय दिई म्युजिक भिडियोमा मात्र काम गरिरहेको कारण आलोचनाकै कारण पछि हटेका त होइनन् भन्ने प्रश्न उनको अगाडि पहाड बनेर खडा छ ।
गत दुई वर्षदेखि उनले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । के आकाशलाई चलचित्रको अफर नै छैन त ?
मङ्गलवार एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा आकाश भेटिए । पत्रकारले उनलाई यही प्रश्न तेर्स्याए । आकाशले आफूसँग २/३ वटा चलचित्र रहेको बताए, तर विभिन्न कारणले छायाङ्कन हुन नसकेको जिकिर गरे । “पोहोर साल नै २/३ वटा चलचित्रमा काम गर्नुपर्ने थियो । तर, विभिन्न कारणले छायाङ्कन सुरु हुन सकेको छैन । अब अर्को वर्ष काम अगाडि बढ्छ भन्ने विश्वास छ,” उनले भने ।
उनले आफू लुकेर नबसेको पनि स्पष्ट पारे । “म लुकेको छैन । काम गरिरहेकै छु । काम पनि फरक-फरक तरिकाको हुन्छ । मिडियामा आउने काम फरक हुन्छ र त्योभन्दा बाहिरको काम पनि हुन्छ,” उनले भने । अहिले आफू व्यवसायमा बढी व्यस्त भएकाले भिडियोहरू पनि कमै गरिरहेको उनले बताए । चिनजानका व्यक्तिको भिडियो मात्र गरिरहेको उनको भनाइ थियो ।
यो पनि पढ्नुहोस्: