काठमाडौं – अभिनेत्री सुपुष्पा भट्ट ‘रणवीर’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन् । उनको आगामी चलचित्र ‘पिताम्बर’मा दर्शकहरूले उनलाई फरक भूमिकामा देख्न पाउनेछन् । यसअघिका चलचित्रमा चञ्चले भूमिका निभाएकी सुपुष्पा ‘पिताम्बर’मा भने विधवाको भूमिकामा देखिनेछिन् ।
चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘पिताम्बर’मा उनले ‘बिहानी’ नामक पात्रको भूमिका निर्वाह गरेकी छन् । पात्रका बारेमा बोल्दै सुपुष्पाले भनिन्, “बिहानी विधवा छे र निकै नै सोझी छे । उनी कसरी विधवा हुन्छिन् भन्ने कुरा दर्शकहरूले फिल्म हेरेपछि मात्र थाहा पाउनुहुनेछ ।”

उनले थपिन्, “मैले सधैँ गर्न चाहेको भूमिका ‘पिताम्बर’मा पाएँ । यो भूमिकामा विभिन्न चरणहरू छन्, जसले दर्शकहरूलाई कथानकको विभिन्न मोडहरूमा पुर्याउँछ ।”
सुपुष्पाले ‘पिताम्बर’मा काम गरेपछि विधवा जीवनको कठिनाइहरूलाई नजिकबाट महसुस गरेको बताइन् । “नेपाली समाजमा विधवाको जीवन बिताउनु निकै कठिन रहेछ । आफूलाई माया गर्ने कोही नहुँदाको पीडा मैले यो फिल्ममा काम गरेपछि मात्र बुझेँ,” उनले भनिन् ।
चलचित्रमा काम गर्ने निर्णयबारे सुपुष्पाले भनिन्, “सह निर्माता पुरुषोत्तम प्रधानले मलाई कथा सुनाएपछि म यसमा काम गर्न राजी भएँ । कथा र मेरो भूमिका दुवैले मलाई निकै आकर्षित गरेको थियो।”
सुपुष्पाले ‘पिताम्बर’ जस्तो मल्टिस्टार चलचित्रमा काम गर्न पाउनुलाई आफ्नो भाग्यको रूपमा लिएकी छन् । “यति धेरै कलाकारहरूको बीचमा मैले पनि आफ्नो पहिचान बनाउन पाएँ, यो मेरो लागि गर्वको कुरा हो,” उनले भनिन् ।
निर्देशकको बारेमा बोल्दै उनले भनिन्, “राम्रो भिजन भएको निर्देशकले फिल्म बनाउन सजिलो हुन्छ । मैले यस्तो निर्देशकको साथ काम गर्ने अवसर पाएँ, जसले मलाई काम गर्न सहज भयो ।”
सुपुष्पाले भविष्यमा एक्सन फिल्महरूमा काम गर्ने इच्छा व्यक्त गरेकी छन् । “मलाई आफैँले एक्सन गर्ने फिल्महरूमा काम गर्ने इच्छा छ । यदि त्यस्तो प्रस्ताव आयो भने, म पक्कै विचार गर्नेछु’, उनले भनिन् ।