
काठमाडौं – बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेहीले काठमाडौंमा नेपाली दर्शकलाई नचाउन आउने भएकी छिन् । आगामी जेठ ३ गते हायात ग्राउन्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा नोराले आफ्नो प्रस्तुति दिने भएकी हुन् । नोरासँगै उनको २० जनाभन्दा बढी नृत्यकारहरूको टोली नेपाल आउने बताइएको छ ।
ह्युमन रेस्पेक्ट नेपालसँगको सहकार्यमा वर्ल्डवाइड फिल्मस् नेटवर्कले आयोजना गर्ने यस कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको सहयोग गर्नु रहेको बताइएको छ । यो कार्यक्रम नेपालमा आयोजना भएका अन्तर्राष्ट्रिय कलाकारहरूको कार्यक्रममध्ये उत्कृष्ट बनाउने कोसिसमा रहेको इभेन्ट म्यानेजर मनिष कार्कीले बताए । यो इभेन्टको व्यवस्थापन मनु मिडियाले गरेको छ ।
आयोजकले नेपाली दर्शकका साथै सीमावर्ती भारतीय दर्शकलाई पनि आकर्षित गर्ने लक्ष्य राखेको छ । आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार कार्यक्रममा नेपाली कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् ।
नोरा फतेही पछिल्लो समय भारतकी सबैभन्दा चल्तीको नृत्याङ्गना हुन्, उनले ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता चर्चित गीतहरूमा अभिनय गरेकी छिन् ।