काठमाडौं – ‘कर्मा’को एक्सन दृश्य देखेर लोभिएकी अभिनेत्री उपासना सिंह ठकुरी अब एक्सन भूमिकामा देखिन चाहन्छिन् । उनले आफू अभिनीत चैत २९ गते रिलिज हुने ‘कर्मा’को सेटमा देखेको एक्सन सिनले आफूलाई यस्तो भूमिकामा काम गर्न प्रेरित गरेको बताइन् ।

“मैले ‘कर्मा’मा एक्सन भूमिकामा काम गरेकी छैन । तर, त्यहाँको एक्सन दृश्य देखेर मलाई लोभ लाग्यो,” उपासनाले भनिन्, “अब म पनि एक्सन भूमिकामा काम गर्न चाहन्छु ।” उपासनाले कलाकारहरूले गरेको काम देखेर आफू पनि यस्तो भूमिकामा काम गर्न सक्षम रहेको महसुस गरेको बताएकी हुन् । “मलाई लाग्छ, म पनि एक्सन भूमिकामा काम गर्न सक्छु,” उनले भनिन्, “मलाई एक्सन चलचित्रको अफर आएमा, म त्यसको लागि तयार छु ।”
उपासना ‘कर्मा’मा विपिन कार्कीको अपोजिटमा छिन् । यस चलचित्रमा मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी र निर्मल शर्माको पनि अभिनय छ ।
सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ एक्सन, ड्रामा र सस्पेन्सको मिश्रण रहेको छ ।