नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण रसुवाको गोसाईंकुण्डमा हुने



रसुवा – ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौथो संस्करण यो वर्ष रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा आयोजना हुने भएको छ । आयोजक सेलिब्रिटी नेपालले बिहीबार रसुवाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी वैशाख ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो ।

प्रत्येक वर्ष फरक-फरक जिल्लाका ग्रामीण भेगमा आयोजना हुने यस महोत्सवमा ग्रामीण परिवेशमा निर्माण भएका नेपाली फिचर फिल्म, छोटा चलचित्र, वृत्तचित्र र सांस्कृतिक चलचित्रहरू प्रदर्शन गरिनेछन् । यसका साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथावस्तुलाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि सञ्चालन गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

महोत्सवमा करिब दुई दर्जन चलचित्रहरू प्रदर्शन गरिने र चलचित्रसँग सम्बन्धित व्यक्तिहरूसँग गाउँका दर्शकहरूले अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ। रसुवा जिल्लामा चलचित्र हल नभएकोले चलचित्र हेर्न रुचाउने दर्शकहरूका लागि यो महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै चलचित्र क्षेत्रको प्रचारप्रसारमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । महोत्सवमा करिब ४ हजार दर्शकलाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । गोसाईंकुण्ड गाउँपालिका रसुवाले वार्षिक रूपमा आयोजना गर्दै आएको चौथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । रसुवा जिल्लाको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले विशेष महत्त्व राख्ने र यसले जिल्लालाई देश तथा विदेशमा समेत चिनाउने आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu