
काठमाडौं – चलचित्र निर्देशक अशोक थापा मगरले ‘खुस्मा’को सफलतापछि नयाँ चलचित्र ‘जलाकी’को घोषणा गरेका छन् । शुक्रवार चलचित्रको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले छायाङ्कन सुरु भएको जानकारी दिएको हो ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको ‘जलाकी’को छायाङ्कन अहिले बागलुङको कालिका भगवती मन्दिरमा भइरहेको छ । यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जनाइएको छ । चलचित्रमा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका रहनेछ ।
‘जलाकी’ मा गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ बाट चर्चामा आएकी मोडल आकृति राजभण्डारीले डेब्यु गर्दैछिन् । ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीक ढुङ्गाले चिनेको स्तम्भलाई बुझाउँछ । निर्देशक अशोक थापा मगरका अनुसार, यो चलचित्रको छायाङ्कन तीन चरणमा सकिनेछ । यसका लागि रुकुम, म्याग्दी, बागलुङ, पोखराका विभिन्न स्थान र दक्षिण कोरियामा समेत छायाङ्कन गरिनेछ । यस चलचित्रले मगर र गुरुङ समुदायको संस्कृतिलाई विशेष रूपमा प्रस्तुत गर्नेछ ।
एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले लगानी गरेका छन् । चलचित्रमा माओत्से गुरुङ, बुद्धि तामाङ, सङ्गीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ । केही अन्य कलाकारको छनोट कार्य पनि भइरहेको निर्माण टिमले जनाएको छ ।