‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर उच्च शो



काठमाडौं – यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । दर्शकहरूले प्रतीक्षा गरिरहेको यस चलचित्रलाई मल्टिप्लेक्सदेखि एकल पर्दासम्म उच्च शो दिइएको छ ।

नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले प्रदर्शनको तीन दिन अगाडि नै अग्रिम टिकट बुकिङ खोलेको छ । यो चेनले काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । मोफसलमा इटहरी बाहेकका हलहरूमा ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ ।

यस्तै, आइएनआइ सिनेमाजले काठमाडौंका लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरका हलहरूमा १६ शो दिएको छ । काठमाडौंका वन सिनेमाजले आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा १० शो दिएको छ । चाबहिलको एफक्युबले ५ शो, कमलपोखरीको बिग मुभिजले ५ शो र गोङ्गबुको बिएसआर सिनेमाजले ४ शो दिएका छन् ।

चलचित्र रिलिज हुन एक दिन बाँकी रहेकाले बिहीबार साँझसम्म शो थपिने क्रम जारी रहनेछ । अग्रिम टिकट बुकिङको ट्रेन्ड हेर्दा चलचित्रले शो सङ्ख्या उच्च पाउने अनुमान गर्न सकिन्छ । 

नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘वसन्त’मा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस सामाजिक कथामा प्रकाश सपुतको निर्देशन, कथा, पटकथा र सङ्गीत रहेको छ । यस चलचित्रले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र सङ्घर्षको कथा बोकेको छ ।

यसैबिच, यस चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu