चलचित्र ‘लाज शरणम्’का कुपोषित बाल कलाकार विकास केसीको निधन, चलचित्र युनिट स्तब्ध



काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको सामाजिक सन्देश बोकेको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिका निभाएका विकास केसीको मङ्गलवार निधन भएको छ ।

चलचित्र युनिटले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेका छन् । वि.सं. २०६६ साउन १ गते जन्मिएका विकास चलचित्रमा जस्तै वास्तविक जीवनमा पनि कुपोषणको सिकार भएका थिए । कर्णालीको विकट बस्तीमा जन्मिएका उनलाई चलचित्रको छायाङ्कनपछि जटिल कुपोषणको उपचारका लागि काठमाडौंको ग्रिन सिटी अस्पताल ल्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि कान्ति बाल अस्पतालमा पठाइए पनि त्यहाँबाट पनि उनलाई फर्काइएको थियो ।

चलचित्र युनिटले छायाङ्कनका क्रममा विकासको स्याहारसुसार, खानपिन, लत्ताकपडा र परिवारलाई सहयोग गरेको थियो ।

निर्देशक कुमार कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालमा अझै पनि कुपोषणका कारण बालबालिकाले ज्यान गुमाउनु परिरहेको छ । विकासको मृत्युले हामीलाई स्तब्ध बनाएको छ ।कर्णालीको पीडादायी जीवन र बाल मृत्युदरप्रति सरकारको गम्भीर ध्यान पुगोस्।” उनले फिल्ममार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको र कला क्षेत्रबाट कुपोषणविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, कलाकारहरू सिताराम कट्टेल, अर्जुन घिमिरे, महेश त्रिपाठी, निर्माता नबिन श्रेष्ठ लगायतले केसीको निधनप्रति दुःख व्यक्त गर्दै कर्णाली क्षेत्रमा रहेको कुपोषणको विकराल अवस्था प्रति चिन्ता व्यक्त गरेका छन् ।

‘लाज शरणम्’ कर्णालीको दयनीय अवस्थालाई चित्रण गरिएको चलचित्र हो । कर्णालीमा अझै पनि ५० हजार बालबालिका कुपोषणबाट पीडित रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu