
काठमाडौं – अभिनेता राजेश हमाल अभिनीत चलचित्र ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ । निर्देशक दिवाकर भट्टराईका अनुसार चलचित्रको सम्पूर्ण कलाकारको डबिङ सकिएको छ र चलचित्र प्रदर्शनका लागि तयार छ ।
डबिङका क्रममा हमालले ‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ?’ भन्ने संवाद बोलेका थिए, जुन संवाद दर्शकमाझ लोकप्रिय हुने आशा गरिएको छ । दर्शकमाझ हमालका ‘शङ्कर हुँ म शङ्कर, ‘साथीका लागि यो हात सलाम, दुस्मनका लागि यो हात फलाम’ जस्ता दर्जनौँ संवादहरू लोकप्रिय छन् ।
डबिङ सकिएपछि हमालले चलचित्रलाई लिएर ठुलो आशा व्यक्त गरेका छन् । “दर्शकले मलाई यस पटक फरक अवतारमा देख्नुहुनेछ र यो चलचित्र दर्शकका लागि सरप्राइज हुनेछ,” उनले भने। आठ वर्षपछि हमालले यसै चलचित्रबाट कम ब्याक गर्न लागेका हुन् । यसैले दर्शकहरूमा उनको कम ब्याक कस्तो होला भन्ने उत्सुकता छ । हमालले पनि यो चलचित्रलाई आफ्नो करिअरको महत्त्वपूर्ण प्रोजेक्टको रूपमा लिएका छन् ।
यो चलचित्रमा राजेश हमालसँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, शनिसा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायाङ्कन राजु विक्रम थापाले गरेका हुन् भने कविराज गहतराज र माइकल चन्दले नृत्य निर्देशन गरेका छन् । चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
दिवाकर भट्टराईको लेखन रहेको यो चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको छ। चलचित्र क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जनले निर्माण गरेका हुन् । करण सिंह प्रोडक्सन डिजाइनर रहेको चलचित्रको एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।
चलचित्रको रिलिज मिति तय भएको छैन ।