‘कर्मा’ दर्शकको मनोरञ्जनको लागि बनेको हो: निर्देशक चौधरी



काठमाडौं – निर्देशक सौरभ चौधरीले नयाँ वर्षको अवसरमा रिलिज हुन लागेको आफ्नो नयाँ चलचित्र ‘कर्मा’ दर्शकको मनोरञ्जनको लागि बनेको चलचित्र रहेको बताएका छन् । पत्रकारहरूसँगको कुराकानीमा उनले ‘कर्मा’मा सस्पेन्स, ड्रामा र एक्सनको उत्कृष्ट संयोजन रहेको बताए ।

“चलचित्र हेर्नुको एक प्रमुख उद्देश्य मनोरञ्जन हो, यस चलचित्रमा मैले कुनै ठुलो ज्ञान बाँडेको छैन । यो चलचित्रको विशेषता भने सस्पेन्स, ड्रामा र एक्सन हो,” चौधरीले भने, “यो चलचित्र कसैको वास्तविक जीवनको कथाबाट प्रेरित छ, जुन एकदमै साधारण मानिसको कथा हो ।”

उनले ‘कर्मा’ मा एक्सनको नयाँ शैली प्रस्तुत गरेको दाबी गर्दै भने, “कहीँ कतै देखिसकेको एक्सन कोरियोग्राफी छैन । एउटा अवस्थामा पात्र कसरी फस्छ भन्ने कुराको रियाक्सनमा आउने एक्सन हो । परिस्थिति अनुसारकै एक्सन सिक्वेन्सहरू छन् ।”

‘कर्मा’को बजेट करिब ३ करोड ८० लाख रहेको चौधरीले बताए । यसमा विपिन कार्की, उपासना सिंह ठकुरी, दिव्य देव र मुकुन भुसाल, बेन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ । विपिन कार्कीले यस चलचित्रमा फरक भूमिकामा अभिनय गरेको निर्देशकले दाबी गरे, “विपिनले हरेक किसिमको पात्रमा अभिनय गर्नुभएको छ । मलाई एक्सन मात्र होइन कथानक अगाडी बढाउन सक्ने कलाकार चाहिएको थियो, त्यही भएर उहाँलाई लिएको हो ।” उनले कर्मामा तीनवटा प्रमुख एक्सन दृश्यहरू रहेको बताए ।

‘कर्मा’ को नाम ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ भन्ने अवधारणामा आधारित रहेको चौधरीले बताए  । यसमा एक पात्रको जीवनमा कसरी कर्माले प्रभाव पार्छ र कसरी पुराना कुराहरू फर्केर आउँछन् भन्ने कुरा देखाइएको उनले जनाए ।

चौधरीले आफ्नो अघिल्लो चलचित्र ‘अगस्त्य’ सँग ‘कर्मा’को तुलना गर्दै भने, “अगस्त्य जुन तरिकाले खिचेको थिएँ यो चलचित्र पूरै फरक तरिकाले खिचेको छु । यसको ‘फ्लो’ नै फरक पारेको छु ।”

चौधरीले ‘कर्मा’ दर्शकहरूलाई मन पर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu