मातृ भाषी चलचित्र प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड र १५ सङ्घसंस्थाबिच सम्झौता



काठमाडौं – नेपाली चलचित्र उद्योगलाई समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृ भाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न सङ्घसंस्था सँग सहकार्य गर्दै मातृ भाषी चलचित्र प्रवर्द्धनका लागि ३४ लाख ५० हजार रुपैयाँको सम्झौता गरेको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा भएको उक्त कार्यक्रममा १५ सङ्घसंस्थाहरू लाई विभिन्न शीर्षकमा सहकार्यको सम्झौता गरिएको हो । सहकार्यको सम्झौता भएका संस्थाहरूमा आदिवासी जनजाति चलचित्र महासङ्घ, थारु चलचित्र तथा सांस्कृतिक सङ्घ, तामाङ चलचित्र सङ्घ, मगर चलचित्रकर्मी सङ्घ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी सङ्घ, धिमाल चलचित्रकर्मी सङ्घ, माझी चलचित्रकर्मी सङ्घ, गुरुङ फिल्म एसोसिएसन नेपाल, भुजेल चलचित्रकर्मी सङ्घ, किरात राई चलचित्रकर्मी सङ्घ, याक्थुङ्ग मुन्चईत चोक सयङ, थामी चलचित्र सङ्घ, नेवा फिल्म सोसाइटी, शेर्पा चलचित्र सङ्घ नेपाल रहेका छन् ।

यस सम्झौताले मातृभाषा चलचित्रकर्मीहरूलाई हौसला प्रदान गरेको सम्झौतापछि मातृ भाषी चलचित्रकर्मीहरूले बताएका छन् । आदिवासी जनजाति मातृ भाषी चलचित्रकर्मी महासंघका पूर्व अध्यक्ष अमृत बहादुर सुनुवारले चलचित्र विकास बोर्डले मातृ भाषी चलचित्रको प्रवर्द्धनमा चालेको कदमप्रति खुसी व्यक्त गरेका छन् । उनका अनुसार, यो कार्यक्रमले विविध भाषाका चलचित्रलाई बजारमा स्थापित गर्न सहयोग पुग्नेछ र नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो कार्यक्रमले नेपाली चलचित्र उद्योगमा विविधताको प्रवर्द्धन गर्नेछ । संयोजक सुनिल मानन्धरले मातृ भाषी चलचित्रलाई अझ बलियो बनाउन आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । यस पहलले आदिवासी, जनजाति भाषाका चलचित्रलाई मुख्य धारमा ल्याउन योगदान दिने अपेक्षा गरिएको छ । आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने बोर्डको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu