
काठमाडौं – अघिल्लो साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘द्रौपदी’ अहिले दोस्रो हप्ताको प्रदर्शनमा छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यस चलचित्रलाई हेरेपछि हालै उपसभामुख इन्दिरा रानाले ‘द्रौपदी’ ले नारी सशक्तीकरणको विषयलाई गजबसँग उठाएको बताएकी छन् ।
रानाले संस्कार र परम्पराहरू समयअनुसार परिवर्तन हुँदै जाने र ‘द्रौपदी’ले नारीहरूलाई कुरीति र कुसंस्कारविरुद्ध लड्न बल पुर्याउने बताइन् । उनले सबैलाई यो चलचित्र हेर्न आग्रह पनि गरिन् ।
त्यस्तै, पूर्व मन्त्री रेखा शर्माले पनि यो चलचित्र हेरेकी छन् । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको अवस्थामा ‘द्रौपदी’ ले नारीलाई माथि उठाउन र समाज परिवर्तनका लागि विद्रोहको बिगुल फुकेको शर्माले बताइन् ।
यसका लेखक, निर्देशक तथा कलाकार ऋषिराज आचार्यले विभिन्न उच्च तहका नेतृहरूलाई देखाएर उनीहरूको प्रतिक्रिया लिइरहेको बताए । चलचित्रमा कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथाहरूलाई अत्यन्त मिहिनेतका साथ प्रस्तुत गरिएको छ । चलचित्रले अन्तर्राष्ट्रिय स्तरका महोत्सवहरूमा समेत स्थान पाउँदा आफू निकै हर्षित भएको आचार्यले बताए ।
चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको अभिनय रहेको छ ।