
काठमाडौं – नयाँ पुस्ताको मन जितेका गायक सुशान्त केसी अब ठुलो पर्दामा पनि गुन्जिने भएका छन् । उनले चलचित्र ‘कर्मा’ बाट पार्श्वगायनमा पाइला राखेका छन् । यो चलचित्र यही चैत २९ गते रिलिज हुँदैछ ।
सुशान्तले ‘पागल पागल’ बोलको गीतमा आवाज दिएका हुन् । गीतमा शब्द, सङ्गीत र स्वर सुशान्तकै रहेको छ । भिडियोमा पनि उनलाई पनि देख्न पाइने बताइएको छ ।
चलचित्रका निर्देशक सौरभ चौधरीले भने, “हामीलाई एउटा रोमान्टिक गीत चाहिएको थियो, र सुशान्तले यो गीत गाएर पठाउनुभयो । ‘अगस्त्य’ हेरेर उहाँ प्रभावित हुनुभएको रहेछ, त्यसैले हाम्रो आग्रहलाई सहजै स्विकार्नुभयो ।”
सुशान्त पछिल्लो समयका चर्चित गायक हुन् । उनका ‘बार्दली’, ‘झ्यालबाट’, ‘पर्ख न’, ‘सारङ्गी’ जस्ता गीतले श्रोताको मन जितेका छन् । ‘बार्दली’ गीत त युट्युबको विश्वव्यापी ट्रेन्डिङमा समेत परेको थियो ।