
काठमाडौं – अभिनेता नरेन्द्र खड्काले सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’मा मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । निर्माण टोलीले हालै उनीसँग सम्झौता गरी मुख्य भूमिकामा अनुबन्धित गरेको छ ।
एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका खड्काले पछिल्लो पटक ‘बाह्र गाउँ’मा काम गरेका थिए । ‘हमेशा’ चलचित्रबाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका नरेन्द्र ‘बुलाकी’बाट चर्चामा आएका थिए । ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको पुरस्कार समेत जितेका थिए ।
‘बिगुल’को शाब्दिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजा हो, जसले चलचित्रको कथावस्तुलाई उजागर गर्ने सङ्केत गर्दछ । अन्यायविरुद्धको आवाज उठाउने कथावस्तुमा आधारित ‘बिगुल’मा नरेन्द्र बाहेक अन्य कलाकारहरूको छनोट हुन बाँकी छ । निर्माण टोलीले उनको जोडीको लागि अभिनेत्रीको खोजी गरिरहेको छ ।
रमेश कोइरालाले निर्देशन गर्ने यो चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् भने कल्पना पौडेल प्रस्तुत कर्ताको रूपमा छिन् । एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायाङ्कन शिव ढकालले गर्नेछन् । निर्माण टोलीले चलचित्रको छायाङ्कन नयाँ वर्ष २०८२ को पहिलो दिन मुहूर्त गरी सुरु गर्ने घोषणा गरेको छ ।