
काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘अभिमन्यु’मा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित भएकी छन् । हालै मात्र ‘महाभोज’ चलचित्र छायाङ्कन सकेकी गुरुङलाई पहिलो कलाकारको रूपमा यस चलचित्रमा अनुबन्ध गरिएको निर्माण पक्षले जनाएको छ ।
सर्व कालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता विनोद पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।
यसअघि सार्वजनिक थिम पोस्टरले चक्रव्यूह र पैसाबिचको सङ्घर्षलाई प्रस्तुत गरेको छ । विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुने चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने सङ्घर्षको कथा चलचित्रले भन्नेछ, जसलाई सङ्गीतकार तथा गायक समेत रहेका सुशान्त गौतमले निर्देशन गर्नेछन् ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए । यो चलचित्रमा शरद महतोको डिओपी रहने छ ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।