
काठमाडौं – अनन्या फिल्मस् प्रालीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘जेरी अन टप’को छायाङ्कन सकिएको छ । यो चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, र केदार घिमिरेले अभिनय गरेका छन् । निर्माता सरोज न्यौपानेले चलचित्रको छायाङ्कन मुस्ताङमा सकिएको र कलाकारहरू काठमाडौं फर्किएको जानकारी दिएका छन् ।
यसको छायाङ्कन सगरमाथा बेसक्याम्प, काठमाडौं र मुस्ताङमा गरिएको छ । काठमाडौंमा मात्रै चलचित्रको केही दृश्य छायाङ्कन गर्न झन्डै एक करोड रुपैयाँको सेट निर्माण गरिएको थियो ।

चलचित्रमा भुवन केसी, सुरक्षा पन्त, र उषा खड्कीको पनि प्रमुख भूमिका रहेको छ । भुवन केसीले अनमोलको बुबाको भूमिका निभाएका छन् ।
चलचित्र निर्माणमा ६ करोड रुपैयाँ खर्च भएको निर्माताले बताएका छन् । विदेश प्रदर्शन अधिकार हङकङको एलजी एसोसिएट्सले ३ करोड रुपैयाँमा किनेको दाबी गरिएको छ ।
सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति तय भइसकेको छैन ।