
काठमाडौं – आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार राति भव्य समापन भयो । यस वर्षको महोत्सवमा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले प्रतिष्ठित गौतम बुद्ध अवार्ड जित्न सफल भएको छ ।
पाँच दिनसम्म चलेको यस महोत्सवमा १७ विभिन्न विधामा उत्कृष्ट फिल्महरूलाई पुरस्कृत गरियो । राष्ट्रिय फिल्म प्रतिस्पर्धामा ‘आँखा’ उत्कृष्ट कथानक फिल्म चुनियो भने ‘साक्षी रुख’ उत्कृष्ट छोटो फिल्म र ‘देवी’ उत्कृष्ट डकुमेन्ट्री घोषित भए ।
फिचर फिल्मतर्फ, ‘पूजार सार्की’का निर्देशक दिनेश राउतले उत्कृष्ट निर्देशकको अवार्ड जिते, अञ्जना बराइलीले ‘पूजार सार्की’बाटै उत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्नो नाममा लेखाए, र ‘आँखा’का आरके मेहता उत्कृष्ट अभिनेता घोषित भए । ‘पूजार सार्की’का लागि राजेश श्रेष्ठले उत्कृष्ट छायाङ्कनको अवार्ड प्राप्त गरे भने ‘आँखा’का जौन योञ्जनले उत्कृष्ट पटकथा लेखकको अवार्ड जिते ।

अन्तर्राष्ट्रिय फिल्मतर्फ भारतीय फिल्म ‘रुक्मिणी’ले डन क्वीजोटे अवार्ड जित्यो भने अर्जेन्टिनी फिल्म ‘द अविस’ले मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) पाउन सफल भयो । छोटो फिल्म विधामा ‘अ बिट्नेस’का निशान खत्री उत्कृष्ट निर्देशक घोषित भए, बेल्जियमको ‘मेल्टिङ स्नो’ले माउन्ट एभरेस्ट अवार्ड र स्पेनी फिल्म ‘लुसिया जि रोमेरो’ले बागमती अवार्ड जित्यो ।
दर्शकहरूको रोजाइमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ उत्कृष्ट कथानक फिल्म, लव प्याकुरेलको ‘गल्स रि राइटिङ डेस्टिनी’ उत्कृष्ट डकुमेन्ट्री र ‘साक्षी रुख’ उत्कृष्ट छोटो फिल्म घोषित भए ।
चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजित यस महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन गरिएको थियो । समापन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख अतिथिको रूपमा उपस्थित भएर विजयीहरूलाई पुरस्कार वितरण गरे ।