
मेरिल्यान्ड – नेपाली कला, साहित्य र संस्कृतिको धरोहरलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाले आगामी जुलाई २१ मा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ आयोजना गर्ने भएको छ । यस कार्यक्रममा नेपाली भाषा, कला, साहित्य, खेलकुद र चलचित्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।
मेरिल्यान्डको हार्फोर्ड काउन्टीस्थित रमाडा विन्डहममा हुने यो कार्यक्रमले नेपाली संस्कृतिलाई जीवन्त राख्ने र अमेरिकामा रहेका नेपाली प्रतिभाहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । ईनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीले यस कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूको पहिचान र संस्कृतिलाई विश्वसामु चिनाउने बताए ।
कार्यक्रममा अमेरिका लगायत विश्वभर छरिएका नेपाली कलाकार, खेलाडी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । ईनासले दसैँ, तिहार, तीज, फागु पूर्णिमा र नयाँ वर्षजस्ता पर्वहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम र सम्मान समारोहहरू आयोजना गर्दै आएको छ ।
ईनासको इतिहास सन् २०१२ मा युरोपको पोल्यान्डबाट सुरु भएको थियो र सन् २०१४ मा भर्जिनियाबाट अमेरिकामा यसको शाखा स्थापना भएको थियो । हाल यो संस्था मेरिल्यान्ड, भर्जिनिया, पेन्सिलभेनिया र केन्टकी लगायतका राज्यहरूमा फैलिएको छ ।
‘ईनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम’ को दोस्रो संस्करणको आयोजना ईनास मेरिल्यान्डले गरेको छ । नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत अमेरिकाको मेरिल्यान्डका लागि पर्यटन प्रवर्द्धक राजु पराजुली यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
ईनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेले यो कार्यक्रम अमेरिकामा रहेको नेपाली समुदायको लागि सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अवसर भएको बताए । कार्यक्रममा नेपालबाट पनि अतिथि कलाकारहरूलाई आमन्त्रण गरिएको छ ।
प्रत्येक दुई वर्षमा हुने यो कार्यक्रमको दोस्रो संस्करण हो, जुन पूर्व अध्यक्ष कन्हैया सिंह परियारको कार्यकालमा सन २०२२ बाट सुरु गरिएको थियो ।