
काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेको पहिलो चलचित्र ‘वसन्त’ को ट्रेलर हालै काठमाडौंमा एक विशेष कार्यक्रमबीच सार्वजनिक भएको छ । चार मिनेट लामो ट्रेलरले दर्शकहरूलाई चलचित्रको कथावस्तुको झलक दिएको छ ।
२०६२/६३ सालको परिवेशमा आधारित यो चलचित्रले नेपाली समाजमा विद्यमान जातीय विभेदको कथालाई चित्रण गरेको छ । ट्रेलरमा प्रकाश सपूत र स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिएका छन् । उनीहरू दुवै प्रेममा छन्, तर जातीय भिन्नताका कारण उनीहरूको सम्बन्ध चुनौतीपूर्ण बन्छ ।
ट्रेलरमा जातीय विभेदविरुद्धको विद्रोह र प्रेमको सङ्घर्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । शान्ति (स्वस्तिमा खड्का) नामक पात्रले जातीय व्यवस्थाविरुद्ध विद्रोह गरेको देखाइएको छ ।
प्रकाश सपूतले ट्रेलरमार्फत ‘ह्यासट्याग सबै बराबर’ अभियानको सुरुवात गरेका छन्, जसले सबै मानिस समान हुन् भन्ने सन्देश दिन्छ । ट्रेलर सार्वजनिक भएपछि ‘वसन्त साँझ’ नामक साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ प्रकाश सपूत, शान्तिश्री परियार, प्रीति आले, देवेन्द्र बब्लु लगायतका कलाकारहरूको प्रस्तुति थियो ।
चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘वसन्त’ मा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रकाश सपूत स्वयंले लेखेको र सङ्गीत दिएको यस चलचित्रको निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहरा हुन् भने सुसन प्रजापतिले छायाङ्कन गरेका छन् ।
ट्रेलर: