
काठमाडौं – गीतकार शशि शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ भिडियोसहित सार्वजनिक भएको छ । प्रेम भावले भरिपूर्ण यो गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका समीक्षा अधिकारी र गायक रुद्र शेखर शर्माको स्वर सुन्न सकिन्छ ।
गीतमा गीतकार मजगैयाँ आफैँले सङ्गीत भरेका छन् । क्रान्ति केसीद्वारा निर्देशित यस गीतको भिडियो ललितपुरको वज्रवाराहीमा छायाङ्कन गरिएको हो । अर्जुन तिवारीले छायाङ्कन गरेको यस गीतको भिडियोमा हालका चर्चित मोडलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।
यो गीत मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमका लागि तयार गरिएको छ । यस एल्बमका लागि अन्य गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले बताएका छन् ।
मजगैयाँका यसअघि पनि थुप्रै गीत, गजलका एल्बम तथा किताबहरू प्रकाशित भइसकेका छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू पनि चर्चामा छन् । नरेन्द्र प्यासीले गाएको ‘तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ’, अन्जु पन्तले गाएको ‘तिम्रै यादमा भित्रभित्रै जलिजली बाँचेकी छु’, प्रमोद खरेलले गाएको ‘माया के हो’, गोविन्द मधुर आचार्यले गाएको ‘तिमी फुल्दै जानू प्रिया’, अन्जु पन्तकै ‘मलाई बिच बाटोमै छोड्ने भए भन ए प्रिय’, प्रकाश रेग्मीले गाएको ‘तिम्रो माया अन्तैतिर गाढा भएपछि’, बिन्दु परियारले गाएको ‘मन दुखेर कराउँछु’, सबिना भट्टराईले गाएको ‘मेरो मुटु रेटिरेटी मलाई माया गर्ने मान्छे’ जस्ता गीत तथा गजलहरूले राम्रो व्यावसायिक सफलता पाएका थिए । दुर्गा खरेलले गाएको ‘यो मखमली आजसम्म एक्लै छे’ बोलको गीत पनि उनको चर्चित गीत हो ।
गीत: