
काठमाडौं – नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’ यति बेला चर्चाको शिखरमा छ । चलचित्रको फस्टलुक, टिजर र गीतले चलचित्र प्रतीक्षारत बनेको छ ।
अहिले दर्शकमाझ ‘पिताम्बर को हो ?’ भन्ने कौतूहल बढेको छ । चलचित्रको निर्माण टिमले चलचित्रका मुख्य कलाकारहरूको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । चलचित्रका कलाकारहरू प्रमोद अग्रहरी, सौगात मल्ल, दयाहाङ राईको छुट्टाछुट्टै सोलो तस्बिर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिएपछि दर्शकमा थप कौतुहलता पैदा भएको छ ।
केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय रहेको छ ।
चलचित्रमा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
चलचित्रमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको सङ्गीत, हिमाल केसीको द्वन्द्व रहेको छ । चलचित्र आरआर फिल्म्सले वितरण गर्दैछ ।