
काठमाडौं – चैत्र २२ गते प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘वसन्त’ को ट्रेलर शनिवार सार्वजनिक हुँदैछ । निर्देशक तथा अभिनेता प्रकाश सपुतले काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा विशेष कार्यक्रम ‘वसन्त साँझ’ आयोजना गरी ट्रेलर सार्वजनिक गर्ने तयारी गरेका छन्, जहाँ अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले र देवेन्द्र बब्लु (द फिरन्ते) ले आफ्नो प्रस्तुति दिनेछन् ।
यो चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रको कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको एक युवकको लेखक बन्ने सपना र त्यसका लागि उसले गर्ने सङ्घर्षको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहरा हुन् भने कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ रहेका छन् ।