
काठमाडौं – आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘भूठान’ ले दर्शकहरूसँग प्रत्यक्ष जोडिने नयाँ योजना सार्वजनिक गरेको छ । चलचित्रको प्रचारप्रसारलाई रोचक बनाउँदै निर्माताहरुले हरेक शुक्रवार काठमाडौंका चर्चित चिया पसल र रेस्टुरेन्टहरूमा ‘फ्राइडे नाइट विथ ह्याप्पिएस्ट म्यान’ नामक कार्यक्रम आयोजना गर्ने भएका छन् ।
यस शृङ्खलाको पहिलो कार्यक्रम चैत्र ८ गते थापाथलीस्थित ‘चियावाला’मा साँझ ५:३० बजे हुनेछ । जहाँ सहभागीहरूले गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्नेछन् । साथै, उनीहरूले चलचित्र ‘भूठान’को टिजर र गीतको समीक्षा पनि गर्न पाउनेछन् । हरेक हप्ता एक जना चर्चित व्यक्तित्वलाई ‘ह्याप्पिएस्ट गेस्ट’को रूपमा आमन्त्रण गरिनेछ ।
पहिलो कार्यक्रममा कवि तथा सञ्चारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथिको रूपमा आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा सहभागीमध्ये तीन भाग्यशाली व्यक्तिले ‘लक्की ड्र’ मार्फत ‘भूठान’को टिकट जित्ने अवसर पाउनेछन् ।
चलचित्रका निर्माता अविरल थापाका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य दर्शकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नु र चलचित्रबारे छलफल गर्दै मनोरञ्जन प्रदान गर्नु हो । संयुक्त राष्ट्र सङ्घले मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रूपमा मनाउने भएकोले वैशाख ५ गतेसम्म ‘खुसीको हप्ता’ मनाउने योजना पनि चलचित्र निर्माण युनिटले बनाएको छ ।
विनोद पौडेलद्वारा निर्देशित ‘भूठान’ मा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, अदिति प्याकुरेल, जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको अभिनय रहेको छ । चलचित्रले विदेशमा रहेका आप्रवासीहरूको घर फर्कन नपाएको कथालाई प्रस्तुत गर्दछ ।