हलमा दुई नयाँ नेपाली चलचित्रहरू ‘११:५५’ र ‘द्रौपदी’ रिलिज



काठमाडौं – नेपाली चलचित्र हलहरूमा यो साता ‘११:५५’ र ‘द्रौपदी’ गरी दुई नयाँ नेपाली चलचित्रहरू रिलिज भएका छन् । यी दुवै चलचित्रहरू फरक कथावस्तुमा आधारित छन् । ‘११:५५’ एक क्राइम थ्रिलर चलचित्र हो, जुन एउटा घरमा भएको हत्याको कथामा आधारित छ । ‘द्रौपदी’ले भने कर्णाली क्षेत्रको बहुपति प्रथाको कथालाई उजागर गरेको छ । दुवै चलचित्रलाई मल्टिप्लेक्सहरूले राम्रो शो दिएका छन् । ‘११:५५’ले देशभर ६० बढी शो पाएको छ भने ‘द्रौपदी’ले ४५ बढी शो पाएको छ । 

यति बेला, गत हप्ता प्रदर्शनमा आएको महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को शो हरू दिनानुदिन थप भइरहेका छन् । पहिलो दिन १ सय ५ शो बाट सुरु भएको यो चलचित्र दोस्रो हप्ताको शुक्रवार १ सय ७० भन्दा धेरै शो सहित चलिरहेको छ । पहिलो ३ दिनमा नै २ करोडभन्दा बढी व्यापार गरेको यो चलचित्रको हप्ताभरिको कमाई बने सार्वजनिक भएको छैन । यस्तो अवस्थामा नयाँ रिलिज चलचित्रहरूलाई ‘अञ्जिला’ चुनौती बनेको छ ।

यस्तै, तेस्रो हप्तामा पुगेको चलचित्र ‘होस्टेल ३’ ले अझै पनि ५० भन्दा बढी शो पाएको छ ।  ‘होस्टेल ३’ व्यावसायिक रूपमा सफल भइसकेको छ । हाल नेपालका हलहरूमा नेपाली चलचित्रहरू ‘११:५५’, ‘द्रौपदी’, ‘अञ्जिला’, ‘होस्टेल ३’, ‘आउट ल: दफा २१९’, ‘राजागंज’, र ‘लाज शरणम्’ छन् भने विदेशी चलचित्रहरूमा ‘स्नो ह्वाइट’, ‘मिकी १७’, र ‘छावा’ प्रदर्शन भइरहेका छन् । ‘लाज शरणम्’ र ‘आउट ल’ले पनि सन्तोषजनक व्यापार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu