
काठमाडौं – थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधवार भव्य रूपमा सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बाजा बजाएर महोत्सवको औपचारिक उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा बोल्दै कुलपति शर्माले आरोहण गुरुकुलको स्थापनाको स्मरण गर्दै अहिलेको रङ्गमञ्च नयाँ पुस्ताका कलाकारले धानेर राखेकोमा गर्व लागेको बताइन् । उनले विदेशी पर्यटकहरू नेपालको कला संस्कृति बुझ्न पनि आउने भए पनि सरकारी स्तरबाट पर्याप्त काम हुन नसकेकोमा दुःख व्यक्त गरिन् । बजेट अभावका कारण चाहे जति काम गर्न नसकिएको उनको भनाइ थियो ।

महोत्सवका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले स्वागत मन्तव्य राख्दै पुरानो पुस्ताले आर्जेको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रियामा आफूहरू रहेको बताए । उनले महोत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा रैथाने ज्ञानको उज्यालोलाई केन्द्रमा राखेर ज्ञान हस्तान्तरणको अभ्यास गरिरहेको जानकारी दिए ।
उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर असोसिएसनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याटलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

चैत १२ गतेसम्म चल्ने यो महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुनेछन् । नाटकका साथै कविता, सङ्गीत, नृत्य प्रदर्शनीलगायत विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ । महोत्सवको पहिलो दिन पशुपति राईद्वारा निर्देशित नाटक ‘उम्लिदो खरानी र लेम्लेमा’ मञ्चन भयो । त्यसपछि २३ जना कविहरूले कविता वाचन गरे । किरण नेपाली र दीप्सन पुतुवारको साङ्गीतिक प्रस्तुति ‘फोकट्र्रोनिक्स’ सँगै पहिलो दिनको कार्यक्रम समापन भयो ।