रङ्गकर्मी विमल सुवेदी चलचित्र निर्देशनमा, ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक



काठमाडौं – रङ्गमञ्चमा लामो समय बिताएका विमल सुवेदीले निर्देशनमा डेब्यू गरेका छन् । उनको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । यो पोस्टरले चलचित्रका मुख्य कलाकारहरूको झलक देखाउनुका साथै चलचित्रको कथालाई पनि प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिसहितको पोस्टरले विस्थापनको कथा बोकेको छ, जहाँ उदास आँखा र क्षितिजतिर हेरिरहेका पात्रहरूको अनन्त प्रतीक्षा देखिन्छ ।

नाटक निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका विमल सुवेदीले ‘हिउँको गीत’ मार्फत चलचित्र निर्देशनमा प्रवेश गरेका हुन् । थिएटर भिलेजमार्फत देशभित्र र बाहिर प्रयोग धर्मी नाटकहरू मञ्चन गरिसकेका सुवेदीले नेपाली नाट्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । अध्यापन र अन्य फिल्मकर्मीहरूसँगको सहकार्यबाट उनले लामो समयदेखि कला क्षेत्रमा योगदान दिँदै आएका छन्। यस पटक भने उनले आफ्नै कथा, पटकथा र निर्देशनमा ‘हिउँको गीत’ तयार पारेका हुन् । उनको यो चलचित्रको मोसन पोस्टरले नै उनको कलाप्रतिको फरक दृष्टिकोणलाई झल्काउँछ । लेखनमा उनलाई ‘साँघुरो’ चलचित्रका निर्देशक जोयश पाण्डेले सघाएका छन् ।

‘हिउँको गीत’मा वर्षा राउत, जोयश पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द मुख्य भूमिकामा देखिएका छन् । चलचित्रको छायाङ्कन अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्गमा गरिएको हो । ह्याप्पी होम स्टुडियोजको ब्यानरमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले यसलाई निर्माण गरेका हुन् ।

विमल सुवेदीका अनुसार, ‘हिउँको गीत’ले नेपाली भाषी भुटानी र आप्रवासीहरूको कथालाई सशक्त रूपमा प्रस्तुत गर्दछ । चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मेका फरक पुस्ताका सपना, पहिचानको सङ्कट, सङ्घर्ष र भुटानीहरूले भोगेको अन्यायलाई चित्रण गरिएको छ ।

चलचित्र निर्माणमा जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनालले कार्यकारी निर्माताको भूमिका निभाएका छन् भने राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेलले सह-निर्माताको रूपमा सहयोग गरेका छन् । ओहायो र पेन्सलभेनियाका नेपाली भाषी भुटानी समुदायको सहयोगमा बनेको यो फिल्ममा थिएटर भिलेज र गाउँ स्टुडियोको पनि सहकार्य रहेको छ । थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली र मनोरथ खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा पेन्सलभेनिया र ओहायोका विभिन्न ठाउँका चार दर्जनभन्दा बढी कलाकारहरूले अभिनय गरेका छन् । फिल्ममा नेपाल, भुटान, ताइवान, चीन र मेक्सिकोका फिल्मकर्मीहरूले काम गरेका छन्। चिनइन गाउलेले खिचेको यो फिल्म निशान घिमिरेले सम्पादन गरेका हुन् । आयुषा सञ्जेल सहायक निर्देशक रहेको फिल्ममा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड र सम्पादन, देउकुमार राईको कला निर्देशन र शङ्कर बिसी र कौशिला खनाल कर्माचार्यको नृत्य निर्देशन रहेको छ । फिल्ममा कौशिला खनाल कर्माचार्य, आर बी खड्का, डम्बर नेपाली र प्रतिमा श्रेष्ठको शब्द रहेको छ भने कालीप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली र अर्जुन रसाइलीले सङ्गीत र गायन गरेका छन् ।

मोसन पोस्टर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu