पूर्व मिस नेपाल निकिता चाण्डक बलिउडमा प्रवेश गर्दै, संजयलीला भन्सालीसँग सहकार्य



काठमाडौं – पूर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउडमा आफ्नो यात्रा सुरु गरेकी छन् । उनले प्रसिद्ध भारतीय चलचित्र निर्देशक सञ्जय लीला भन्सालीको आगामी चलचित्रमा काम गर्ने भएकी छन् ।

निकिताले आफ्नो सोसल मिडियामा भन्सालीसँगको तस्बिर शेयर गर्दै यो खबर सार्वजनिक गरेकी हुन् । उनले भन्सालीको ‘सिनेम्याटिक संसार’को हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताएकी छन् । उनले लेखेकी छन्, “सञ्जय लीला भन्साली सरको सिनेम्याटिक संसारको सानो हिस्सा बन्न पाउँदा म अत्यन्तै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो परियोजना योभन्दा राम्रो अरू हुनै सक्दैनथ्यो ।”

भन्सालीको कुन चलचित्रमा निकिताले अभिनय गर्न लागेकी हुन् भन्नेबारे भने उनले विस्तृत जानकारी दिएकी छैनन् । तर, भन्सालीको आगामी चलचित्र ‘लभ एन्ड वार’मा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललगायतका कलाकारको अभिनय रहनेछ। यो चलचित्र २० मार्च २०२६ मा रिलिज हुने तयारीमा छ ।

निकिताले यसअघि नेपाली चलचित्र ‘साङ्लो’ र ‘राजागंज’ मा अभिनय गरेकी छन् । ‘राजागंज’ मा उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । यसबाहेक उनले ‘द सेमलेस’ नामक अन्तर्राष्ट्रिय चलचित्रमा पनि काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu