थ्रिलर चलचित्र ‘११ः५५’ को प्रचारमा कलाकार, कसले के भने ?



काठमाडौं – चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को टोली अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका आकर्षक प्रचार सामग्रीहरूले दर्शकमाझ उत्साह जगाएपछि निर्माण टोली निकै उत्साहित देखिएको छ ।

चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र नवअभिनेता सागर खनाल अहिले विभिन्न सञ्चारमाध्यममा पुगेर चलचित्रको बारेमा जानकारी दिइरहेका छन् । उनीहरू ‘११ः५५’ एक उत्कृष्ट क्राइम थ्रिलर चलचित्र भएको र दर्शकलाई अवश्य मन पर्नेमा विश्वस्त छन् । चलचित्रको पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमा उत्सुकता जगाएको छ ।

मुख्य अभिनेत्री सृष्टि श्रेष्ठले आफूले हरेक चलचित्रमा फरक भूमिका निर्वाह गर्दै आएको र ‘११ः५५’ को भूमिका पनि दर्शकले रुचाउने आशा व्यक्त गरिन् । उनले यस चलचित्रमा एक विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । थ्रिलर विधाको चलचित्र भएकाले आफू काम गर्न तयार भएको र यो आफ्नो मन पर्ने विधा भएको उनले बताइन् । चलचित्रको कथा रातको ११ः५५ बजे घटेको घटनामा आधारित रहेको उनले जानकारी दिइन् ।

सामान्य दर्शकको रूपमा चलचित्रको स्क्रिप्ट पढ्दा रमाइलो लागेकाले काम गर्न तयार भएको उनले बताइन् । “मैले अहिलेसम्म एक किसिमको भूमिका निर्वाह गरिरहेको थिएँ । यो चलचित्रको भूमिका मेरो लागि फरक थियो । यस भूमिकाको मनोवैज्ञानिक ग्राफ र लुक्स पनि फरक थियो, त्यसैले म काम गर्न तयार भएँ,” उनले भनिन् ।

अर्की अभिनेत्री करिष्मा श्रेष्ठले चलचित्रमा आफ्नो ‘ग्रे’ भूमिका रहेको बताइन् । “चलचित्रमा मेरो ‘ग्रे’ भूमिका छ । मैले यस्तो भूमिका पहिले कहिल्यै गरेकी थिइन । यस्तो भूमिका गर्छु भनेर मैले सोचेको पनि थिइन । यो भूमिका निर्वाह गर्न चुनौती थियो । मलाई चुनौती मन पर्छ । मेरो भूमिका दर्शकले नोटिस गर्नेमा म विश्वस्त छु,” उनले भनिन् ।

चलचित्रको कथा ११ः५५ बजे भएको हत्याको वरिपरि घुमेको छ । “११ः५५ बजे एउटा हत्या हुन्छ । चलचित्रको कथा नै त्यसको वरिपरि घुमेको छ । चलचित्रमा फरक-फरक भूमिका छन् र सबैले आफ्नो जीवन आफ्नै तरिकाले बाँचेका छन् । त्यही बिचमा अचानक एउटा हत्या हुन्छ र त्यसमा सबै संलग्न हुन्छन् । अनि त्यसको अनुसन्धानमा चलचित्र घुम्छ । प्रत्येक १५ मिनेटमा ट्विस्ट आउँछ, जसले दर्शकलाई उत्सुक बनाउँछ,” उनी भन्छिन् ।

मुख्य अभिनेता महेश त्रिपाठी पनि चलचित्रलाई लिएर उत्साहित छन् । नेपालमा कमै बन्ने क्राइम थ्रिलर विधामा चलचित्र निर्माण भएकाले आफू काम गर्न तयार भएको उनले बताए । यस चलचित्रमा मुख्य र सहायक भूमिका भन्ने नभई सबै कलाकारको समान भूमिका रहेको उनको अनुभव छ । छायाङ्कन सेटमा जस्तै हलमा पनि चलचित्र हेर्दा मज्जा आउने उनको विश्वास छ ।

यस चलचित्रबाट अभिनेता सागर खनालले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । डेब्युको दबाब नलिएको उनले बताए । “मैले आजको दिनसम्म आउन धेरै सङ्घर्ष गरेको छु । म यसको लागि तयार थिएँ । डेब्युको तयारीका लागि समय पनि लिएँ । कलेज पढ्नुपर्छ, बुझ्नुपर्छ भनेर पहिल्यै थाहा पाएर तयारी गरेरै आएकाले मैले डेब्युको दबाब लिएको छैन,” उनले भने ।

क्राइम थ्रिलर विधामा बनेको चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको पहिलो निर्देशकीय चलचित्र हो । चलचित्रमा पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।

अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनर रहेका छन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा बनेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu