सपना साकार हुने बेला उत्साहसँगै डर पालेका सागर, ‘११:५५’ लाई एडल्ट प्रमाणपत्र



काठमाडौं – आगामी चैत ८ गते रिलिज हुने नेपाली चलचित्र ‘११ः५५’ मा सागर खनालले डेब्यु गर्दैछन् । लामो समयदेखिको पर्खाइपछि ठुलो पर्दामा डेब्यु गर्न पाउँदा उनी उत्साहित छन् ।

चलचित्रमा डेब्यु गर्न उनले निकै मेहनत गरेको दाबी गरेका छन् । यसअघि थुप्रै टिभीसी एड र केही म्युजिक भिडियोमा काम गरे पनि यो उनको पहिलो ठुलो पर्दाको चलचित्र हो । आफ्नो सपना साकार हुने बेलामा सागर उत्साहितसँगै डराएका पनि छन् । दर्शकले आफ्नो पहिलो कामलाई कसरी लिने हुन् भन्ने डर उनमा छ ।

ओस्कार कलेजमा अभिनय पढेका सागरलाई ‘११ः५५’ मा मुख्य भूमिकामा विश्वास गरेकोमा निर्माण टिमप्रति आभारी छन् । निर्माण टिमको विश्वास टुट्न नदिने गरी काम गरेकाले निर्माण टिम पनि खुसी भएको उनी बताउँछन् । आगामी दिनमा अझै राम्रा र चुनौतीपूर्ण भूमिकामा काम गर्ने उनको इच्छा छ । त्यसका लागि उनी अहिले आफूलाई तयार पारिरहेका छन् ।

चलचित्रबाट डेब्युको प्रेसर नलिएको सागर बताउँछन् । ‘आजको दिनसम्म आउन मैले धेरै सङ्घर्ष गरेको छु । म यसका लागि तयार थिएँ। चलचित्र डेब्युको तयारीका लागि समय पनि लिएँ । कलेज पढ्नुपर्छ, बुझ्नुपर्छ भनेर पहिले नै थाहा पाएर तयारी गरेर नै आएकाले डेब्युको प्रेसर लिएको छैन,’ सागरले भने ।

यद्यपि, दर्शकको प्रतिक्रिया कस्तो आउला, अभिनयलाई कसरी लिने हुन् भन्ने प्रेसर भने उनलाई छ । चलचित्रका प्रचार सामग्री, टिजर, गीत, पोस्टर र ट्रेलरमा देखिएका सबै पात्र मुख्य रहेको सागर बताउँछन् । ओस्कार कलेजमा अभिनय पढाएका महेश त्रिपाठीसँग स्क्रिन सेयर गर्न पाउनुलाई उनले ठुलो उपलब्धि ठानेका छन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । चलचित्र सेन्सर पास भएको छ र सेन्सर बोर्डले यसलाई एडल्ट सर्टिफिकेट दिएको छ । १६ वर्षमुनिका बालबालिकाले यो चलचित्र हेर्न पाउने छैनन् ।

अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले चलचित्रमा प्रोडक्सन डिजाइनर छन् ।

विचित्र फिल्म्स र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu