
काठमाडौं – चलचित्र ‘कर्मा’ का कलाकारहरूले यो चलचित्र नेपाली रजतपटमा अहिलेसम्म देखिएका चलचित्रभन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । कथावस्तु र प्रस्तुतिको शैली दुवै हिसाबले ‘कर्मा’ ले दर्शकलाई नयाँ अनुभव दिने उनीहरूको भनाइ छ ।
ट्रेलर सार्वजनिक कार्यक्रमको समयमा बोल्दै यस चलचित्रका अभिनेता मुकुन भुसालले चलचित्रको भिन्नतालाई जोड दिँदै भने, “यो चलचित्र अहिले बजारमा आइरहेका सामान्य चलचित्रभन्दा धेरै भिन्न छ । निर्देशकले कथालाई नयाँ तरिकाले प्रस्तुत गर्नुभएको छ, जसले दर्शकलाई अवश्य नै आकर्षित गर्नेछ ।” उनले अगाडि भने, “चलचित्रको कथा, निर्माण शैली र प्रस्तुति सबै पक्षमा नयाँपन छ, जसले गर्दा ‘कर्मा’ प्रति म पूर्ण रूपमा आशावादी छु ।”
विपिन कार्कीको एक्सन भूमिकाको प्रशंसा गर्दै मुकुनले भने, “विपिनजीले यस चलचित्रमा निकै मिहिनेत गर्नुभएको छ, र टिजरमा उनको एक्सन अवतारले दर्शकको मन जितिसकेको छ ।”
अभिनेत्री सरिता गिरीले आफ्नो भूमिकाको बारेमा बताउँदै भनिन्, “निर्देशक सौरभ चौधरीले मलाई आमाको मात्र नभई एक सशक्त चरित्रको भूमिका प्रस्ताव गर्नुभएको थियो, जसले मलाई निकै प्रभावित गर्यो । चलचित्रमा मेरो चरित्रमा धेरै गहिराइ छ, जुन दर्शकले मन पराउनेछन् ।”
निर्देशक सौरभ चौधरीले ‘कर्मा’ को दर्शनबारे स्पष्ट पार्दै भने, “कर्मको फल अवश्य मिल्छ । चाहे त्यो राम्रो होस् वा नराम्रो । मैले यही विश्वासका साथ यो चलचित्र बनाएको हुँ।”
अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्र ‘कर्मा’ मा आफ्नो विश्वास व्यक्त गर्दै भनिन्, “मलाई यो चलचित्रमा सधैँ विश्वास थियो, र विपिन कार्कीको एक्सन भूमिकाले दर्शकलाई अवश्य नै मोहित गर्नेछ ।”
‘कर्मा’ मा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र चैत २९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।
एक्सन, ड्रामा र सस्पेन्सको मिश्रण रहेको ‘कर्मा’ को कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । ‘कर्मा’ मा भास्कर स्वाँरको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । वसन्त लम्सालले निर्माण गरेको यो चलचित्र आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति हो । निर्देशक चौधरीको यसअघिको चलचित्र ‘अगस्त्य: च्याप्टर १’ ले पनि दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।