
काठमाडौं – प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा चलचित्रमा हुने सेन्सरसिपको विषय उठान भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चलचित्र निर्देशक असिम शाहले चलचित्र जाँच समितिमा कला बुझेका व्यक्तिहरूलाई नियुक्त गर्न माग गरेका छन् ।
उनले ‘राजागंज’ चलचित्रको उदाहरण दिँदै रिलिजको मुखमा अनावश्यक रूपमा चलचित्रमा काँटछाँट गर्ने प्रवृत्ति बढेको भन्दै विरोध जनाए । प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई चलचित्रमा राख्दा सेन्सर बोर्डले आपत्ति जनाएको घटनाको उनले भर्त्सना गरे ।
चलचित्र समाजको ऐना भएको बताउँदै सांसद शाहले चलचित्रमार्फत समाजका मुद्दाहरू उठाउँदा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाएको आरोप लगाए । उनले चलचित्रकर्मीहरूले उठाएको सेन्सरसिपविरुद्धको आन्दोलनमा आफ्नो समर्थन रहने बताए । राजनीतिक नियुक्ति पाएका सेन्सर बोर्डका सदस्यहरूलाई हटाएर कला बुझेका व्यक्तिहरूलाई नियुक्त गर्न उनले सरकारसँग माग गरे ।