
काठमाडौं – बिहीबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आउटल: दफा २१९’बाट अभिनेता सुशील श्रेष्ठले दमदार कमब्याक गरेका छन् । हलमा चलचित्र हेर्न आउने दर्शकमाझ सुशीलको क्रेज देखिएको छ । शनिवारसम्म आइपुग्दा हलहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ ।
काठमाडौंका विभिन्न हलहरूमा दर्शकको चाप बढेपछि कलाकार र निर्माताहरूले दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गरे । नयाँ निर्माता तथा निर्देशक र अनुभवी कलाकारहरूको सहकार्यमा बनेको यो चलचित्रको निर्माण र एक्सनले दर्शकहरूलाई मोहित पारेको छ ।
चार वर्षपछि पर्दामा फर्किएका अभिनेता सुशील श्रेष्ठले दर्शकहरूबाट प्रशंसा पाइरहेका छन् । उनको कमब्याकलाई लिएर दर्शकहरूमा उत्सुकता थियो, तर उनले आफ्नो दमदार अभिनयले सबैलाई प्रभावित पार्न सफल भएका छन् ।
‘आउटल: दफा २१९’ को क्लाइमेक्समा रहेको चेजिङ दृश्यले दर्शकहरूलाई विशेष आकर्षित गरेको छ । नेपालमा यस्तो दृश्य यसअघि नदेखिएको भन्दै दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।
हलहरूमा दर्शकहरूबाट पाएको उत्साहजनक प्रतिक्रियाले सुशील श्रेष्ठ उत्साहित भएका छन् र उनले अब निरन्तर काम गर्ने बताएका छन् ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र अमित अग्रहरीको निर्माण गरेका हुन् । यसमा शिक्षा सङ्ग्रौला, नरेश पौडेल, विशाल पहारी लगायतका कलाकारको पनि अभिनय छ ।