
काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुतको चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ । बिहीबार रङ्गहरूको पर्व फागु पूर्णिमाको अवसरमा चलचित्रका मुख्य कलाकार प्रकाश र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गर्दै प्रेमिल पोस्टर सार्वजनिक गरिएको थियो ।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा क्याम्पस जाँदै गरेका प्रकाश र स्वस्तिमा प्रेमिल भावमा प्रस्तुत भएका छन् । पोस्टर सार्वजनिक गर्दै निर्देशक सपुतले लेखेका छन्, “जसरी प्रकृतिका विभिन्न रङ्गहरू समेटेर वसन्त ऋतु आएको छ, त्यसरी नै समाजका विभिन्न रङ्गहरू समेटेर ‘वसन्त’ तयार भएको छ । ती रङ्गहरूमध्ये सबैभन्दा सुन्दर रङ्ग हो प्रेमको रङ्ग । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङ्गले बनेको छ । वसन्त ऋतुमा फुल्ने लालीगुराँस जस्तै रङ्गिन पर्व फागु पर्वको शुभकामना ।”
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र सङ्गीत पनि निर्देशक सपुतको नै रहेको छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षको कथा चलचित्रले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।