
काठमाडौं – काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही फागुन १७ गतेदेखि अन्तर्राष्ट्रिय पिपुल्स थिएटर फेस्टिभल सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने यो महोत्सव ५ दिनसम्म चल्नेछ ।
“शान्तिका लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्षण” भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा जापान, भारत, चीन, थाइल्यान्ड, बङ्गलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर र नेपालसहित १३ देशका २०० भन्दा बढी रङ्गकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ ।
महोत्सवमा विभिन्न देशका २ दर्जनभन्दा बढी नाटकहरू प्रदर्शन गरिनुका साथै दैनिक ३ वटाका दरले १३ वटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू सञ्चालन गरिनेछन् । प्रत्येक कार्यशाला फरक-फरक देशका रङकर्मीहरूले सञ्चालन गर्नेछन् । कार्यशालामा सहभागी हुनका लागि ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
महोत्सवको पहिलो दिन बङ्गलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समूहले कार्यशाला सञ्चालन गर्नेछन् । तेस्रो दिन फ्रान्सेली नाट्य निर्देशक मेक्सिम सिसड, दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताइवानी थिएटरहरू असाइनमेन्ट र स्पेस थिएटरले कार्यशाला सञ्चालन गर्नेछन् । चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहनेछ । अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समूह अनट्टा थिएटर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समूहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन् ।
हङकङका मोक च्यू अगस्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानवअधिकार, समानताका लागि समर्पित रंगकर्मीहरूको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा फ्रान्सका म्याक्सिम सिसडको ‘अ लिटल बर्ड इन द केज’, बेलायतको इन्डी लिको नाटक ‘इट वन्ट बि लङ नाउ’, जापानी निर्देशक नात्सुको किरितानीको ‘द ट्रान्स बोर्डर’, नेपालबाट नाटककार अशेष मल्लको ‘फेरि अर्को कुरुक्षेत्र’, राज शाहको ‘मनोक्रान्ति’ लगायतका नाटकहरू मञ्चन हुनेछन् ।
महोत्सवलाई जनमानसमा पुर्याउने उद्देश्यले चैत ७ देखि ९ गतेसम्म इटहरीको मेट्रिक्समा र १० गते धनकुटामा नाटक मञ्चन तथा सांस्कृतिक भ्रमणसमेत हुनेछ ।