
काठमाडौं – गायक सुजन चापागाईँको अमेरिकामा तय गरिएको साङ्गीतिक यात्रा अनिश्चित बनेको छ । अमेरिकी राजदूतावासले चापागाईँसहितका ब्यान्ड सदस्यहरूलाई भिसा नदिएपछि कार्यक्रम प्रभावित भएको हो ।
गायक चापागाईँले सामाजिक सञ्जालमार्फत भिसा अस्वीकृत भएको जानकारी दिएका छन् । ‘आरोह अमेरिका–सुजन चापागाईँ एन्ड द ब्यान्ड’ शीर्षकमा आयोजना गरिने साङ्गीतिक टुर मार्चदेखि अमेरिकाका विभिन्न सहरहरूमा हुने तय गरिएको थियो । तर, भिसा प्रक्रियामा आएको अवरोधले कार्यक्रम अन्योलमा परेको छ ।
गायक चापागाईँका अनुसार नेपाली राजदूतावासमा सम्पन्न अन्तर्वार्तामा ब्यान्डका आठ सदस्यमध्ये केवल एक जनाले मात्र भिसा प्राप्त गरेको बताइएको छ । बाँकी सदस्यहरूले भिसा नपाएपछि पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित भएका छन् ।
“नेपाली सङ्गीतमा निरन्तर मेहनत गरिरहेका कलाकारका रूपमा, लगभग दुई वर्षको तयारीपछि प्रत्यक्ष साङ्गीतिक यात्रा सुरु गर्ने हाम्रो लक्ष्य अधुरो रहनु दुःखद अनुभव हो,” चापागाईँले लेखेका छन् ।
यो कार्यक्रमका लागि हजारौँको सङ्ख्यामा अग्रिम टिकट बिक्री भइसकेको जनाइएको छ ।भिसा अस्वीकृत भएपछि आगामी योजनाबारे थप छलफल भइरहेको र आयोजकहरू अन्य सम्भावनाहरू खोजिरहेको बताइएको छ ।