
काठमाडौं – प्रेम जोडीहरूको विशेष दिन भ्यालेन्टाइन डेको अवसरमा दरबारमार्ग स्थित मधुशाला गीत गजल रेस्टुराँ एन्ड बारले विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘धिरज राई: भ्यालेन्टाइन अनप्लग्ड नाइट’ नाम दिइएको उक्त कार्यक्रममा लोकप्रिय गायक धिरज राईले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन गराउने छन् ।
गायक राईले “तिम्रा नयन”, “लुकी लुकी”, “सोइ ढोले सोइ”, “तिमी रुँदा”, “पर्खी रहेछु”, “कि बाँच्न देऊ” लगायतका आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् । मधुशाला गीत गजलका अध्यक्ष गङ्गाराज राईका अनुसार गायक धिरज राई अहिले कार्यक्रमको लागि तयारीमा व्यस्त छन् । मधुशालाको हाउस ब्यान्डले पनि उनलाई साथ दिनेछ । कार्यक्रमलाई उद्घोषक सुशील नेपालले सञ्चालन गर्नेछन् भने इभेन्ट बेटर ग्यालेक्सीले व्यवस्थापन गर्नेछ ।
मधुशालाका अनुसार कार्यक्रममा आउने जोडीहरूलाई सर्प्राइज गिफ्ट तथा विशेष छुटको व्यवस्था गरिएको छ । सो दिन आउने जोडीहरूका लागि विभिन्न खेलहरूको आयोजना गरिने र विजयी हुने जोडीलाई विशेष उपहार तथा छुटको व्यवस्था गरिएको बताइएको छ ।