
भारतीय चलचित्र निर्माता तथा निर्देशक राकेश रोशनले एउटा खुलासा गरेका छन्, जसमा उनले ‘करण अर्जुन’ चलचित्रको छायाङ्कनको क्रममा सलमान खान र शाहरुख खानले आफूलाई धेरै हैरान पारेको बताएका छन् ।
उनका अनुसार रातमा जब राकेश होटेलमा सुत्थे, तब शाहरुख र सलमान उनको कोठा बाहिर आएर बन्दुक चलाउँथे । अभिनेताहरूको यस्तो हर्कतले राकेशलाई धेरै रिस उठ्दथ्यो, तर उनीसँग सम्झाई बुझाई गर्नुको विकल्प थिएन ।
शाहरुख र सलमानको मस्तीको बारेमा राकेश रोशनले भने, ‘दुवै जना मस्ती गर्नमा नम्बर १ थिए । दुवै जना जवान थिए, धेरै मजाक गर्दथे । यद्यपि मलाई उनीहरूसँग काम गर्नमा मजा आयो । मलाई कहिलेकाहीँ रिस पनि उठ्थ्यो, तर आफूलाई काबूमा राख्दथेँ । कहिलेकाहीँ उनीहरू दुवै जना हाँसो मजाक गर्दा सीमा नाघ्दथे । म सोच्दथेँ कि मलाई उनीहरू जस्तो बन्नु छैन । यस कारण म उनीहरूसँग एउटा पिताको जस्तो व्यवहार गर्दथेँ। उनीहरूलाई सम्झाउने कोसिस गर्दथेँ ।’
राकेश रोशनले थपे, ‘दुवै जना मेरो कोठा बाहिर आएर बन्दुक चलाउँथे । म सुतिरहेको हुन्थेँ र कोठा बाहिरबाट गोलीको आवाज आउँथ्यो । जब म सोध्दथेँ कि यो के गरिरहेको छौ? तब दुवै जना जवाफमा भन्थे कि तपाईँलाई हैरान पारिरहेका छौँ ।’
हालै नेटफ्लिक्समा डकुमेन्ट्री ‘द रोशन्स’ स्ट्रिम भएको छ । यस डकुमेन्ट्रीमा शाहरुख खानले खुलासा गरेका छन् कि फिल्म ‘करण अर्जुन’को छायाङ्कनको समयमा उनीहरू धेरै चकचके गर्दथे । आफ्नो यो हर्कतको लागि उनले पछि राकेश रोशनसँग माफी पनि मागेका थिए ।
शाहरुखले बताए, “पिंकी (राकेश रोशनकी पत्नी) जीले मलाई गाली गर्नुभयो । उहाँले भन्नुभयो– तिमी गुड्डू (राकेश रोशन)लाई धेरै हैरान पारिरहेका छौ । मलाई तिमीबाट यो आशा थिएन । यसमा म भन्दथेँ– मैले केही गरेको छैन । यो सब उ (सलमान)ले गरिरहेको छ । साँच्चै भन्नुपर्दा म र सलमान दुई साना बच्चा थियौँ, जो साँच्चै एउटा पिता जस्तो व्यक्तिलाई हैरान पारिरहेका थियौँ ।”
सन् १९९५ मा रिलिज भएको चलचित्र ‘करण अर्जुन’मा सलमान खान, शाहरुख खान, काजोल र ममता कुलकर्णी जस्ता कलाकारहरू देखिएका थिए । ६ करोडमा बनेको यो चलचित्रले ४३ करोड रुपैयाँ कमाएको थियो । यसका निर्माता तथा निर्देशक राकेश रोशन थिए ।
- दैनिक भास्करबाट