![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2025/01/img_0083-1.jpg?resize=720%2C405&ssl=1)
काठमाडौं – चलचित्र ‘फेरि रेशम फिलिली’ले आफ्नो दोस्रो पोस्टर रिलिज गरेको छ । पोस्टरमा विनय श्रेष्ठ, कामेश्वर चौरसिया र सुपुष्पा भट्टलाई रोमाञ्चक अवस्थामा देखाइएको छ । विशेष गरी, विनयलाई भूँईमा पछारिएको र सुपुष्पाले बन्दुक ताकेको दृश्यले फिल्मको कथावस्तु झल्काउँछ ।
पोस्टरको पृष्ठभूमिमा नेपालको धरहरा र अमेरिकाको स्ट्याचु अफ लिबर्टीलाई राखिएको छ जसले चलचित्रको कथा अमेरिकी सपना र नेपाली यथार्थको द्वन्द्वमा केन्द्रित हुने सङ्केत गर्दछ । योसँगै, चलचित्रले नेपाली समाजमा व्याप्त अमेरिका जाने चाहना र त्यसका पछाडिका सामाजिक तथा पारिवारिक चुनौतीहरूलाई पनि उजागर गर्ने अनुमान लगाउन सकिन्छ । पोस्टरको डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।
‘रेशम फिलिली’का निर्देशक प्रणव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक अधिकांश कलाकार र प्राविधिक टिम यस चलचित्रमा पनि संलग्न छन् । यद्यपि, नयाँ कथा र पात्रहरूले फिल्मलाई अझै रोमाञ्चक बनाउने विश्वास लिइएको छ ।
निर्देशक नीरज महर्जनले चलचित्रको कथा आफ्नो पहिलो सिक्वलझैं मनोरञ्जनको पूर्ण प्याकेज हुने बताएका छन् ।