नेपमेलोको ‘सिंगर्स अन माइक’ सुरु, सङ्गीतमा नयाँ प्रयोग



काठमाडौं – नेपाली सङ्गीत क्षेत्रमा एउटा नयाँ र ताजा शैलीको कार्यक्रम ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ ले सुरु भएको छ । नेपमेलो स्टुडियोले सार्वजनिक गरेको यो कार्यक्रमले दर्शकलाई आफ्नै सिर्जना गाएर प्रस्तुत हुने कलाकारहरूको प्रतिभाको मज्जा लिन आमन्त्रित गर्दछ ।

यद्यपि यो कार्यक्रम ‘रियालिटी शो’ जस्तै देखिए पनि यो वास्तविकतामा एउटा ‘रियल’ शो रहेको बताइएको छ । यहाँ कुनै प्रतिस्पर्धा वा पुरस्कार छैन । यसको मुख्य उद्देश्य हो, जसले गीत गाएको हो, त्यसैलाई स्टेजमा ल्याएर दर्शकसँग जोड्नु । यसले गर्दा दर्शकहरूले आफूले मन पराएका गीतका वास्तविक गायक/गायिकालाई नजिकबाट चिन्ने अवसर पाउनेछन् ।

कार्यक्रमको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले तेजप्रसाद पाण्डेको शब्द तथा सङ्गीत रहेको ‘पहिलो माया’ बोलको गीत गाएर सबैलाई मोहित बनाएकी छन् । उनको मर्मस्पर्शी स्वरलाई गितारमा सञ्जीव बराइली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन् ।

‘नेपमेलो सिंगर्स अन माइक’ले दर्शकलाई नयाँ कलाकारहरूका साथै अग्रज र अहिलेका चल्तीका गायक/गायिकाहरूको प्रस्तुति देखाउनेछ । यस कार्यक्रममा दर्शकले आफूले मन पराउने गीतहरू कसरी बन्छन् र कस्तो वातावरणमा रेकर्ड हुन्छन् भन्ने कुरा पनि बुझ्न सक्नेछन् ।

झन्डै ६ महिनाको मेहनतपछि नेपमेलोले यो कार्यक्रमलाई दर्शकमाझ ल्याएको हो । यस कार्यक्रमको बारेमा जानकारी पाएपछि निर्माण टिमलाई करिब २५० वटा गीतहरू प्राप्त भएका थिए । यसबाट टिमले पहिलो चरणको लागि २४ वटा गीत छनोट गरेको थियो ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu