काठमाडौं – दीपेन्द्र गौचन निर्देशित नेपाली चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ले प्रिमियर शोबाटै उत्कृष्ट प्रतिक्रिया पाएको छ । बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर प्रदर्शनपछि चलचित्रकर्मीहरूले यसको कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको प्रशंसा गरेका छन् ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँपन ल्याएको धेरैको भनाइ छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, दिया मास्के, केकी अधिकारी, मिरुना मगर लगायतका कलाकारहरूले चलचित्रलाई रुचाएको प्रतिक्रिया दिए ।
प्रियंका कार्कीले आफूले हेरिरहेका मूलधारका चलचित्रभन्दा यो चलचित्र फरक र मनोरञ्जक रहेको बताइन् भने आयुष्मान देशराज जोशीले नेपाली चलचित्र क्षेत्रमा चलिरहेको जनराभन्दा फरक जनराको चलचित्र भएकाले यो चलचित्र राम्रो लागेको बताए । निर्देशक निश्चल बस्नेतले दीपेन्द्र गौचनले आफूले भन्न चाहेको कुरा चलचित्रको माध्यमबाट भनेको बताउँदै उनको चलचित्र हेर्ने लामो समयदेखिको इच्छा पूरा भएको बताए ।
स्वस्तिमा खड्का, दिया मास्के र केकी अधिकारीले पनि चलचित्रको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । डीसिएनका अशोक शर्माले चलचित्रमा दर्शकले नयाँ स्वाद पाउने बताए भने निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो चलचित्रलाई सहयोग गर्नुपर्ने बताए ।