काठमाडौं – रिलिजको एक हप्ता अगाडि दीपेन्द्र गौचन निर्देशित चलचित्र ‘केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । ‘मिसिङ’ शीर्षकको यस चलचित्रले पहाडी र मधेसी समुदायबीचको सम्बन्ध, पहिचान र सामाजिक विभेदजस्ता जटिल विषयलाई उठान गरेको छ ।
ट्रेलरले मधेसी समुदायलाई अझै पनि भारतीयका रूपमा चित्रण गर्ने गरिएको भन्ने विषयलाई उजागर गरेको छ । यसले नेपाली समाजमा विद्यमान रहेको जातीय विभेद र सांस्कृतिक भिन्नताका कारण हुने भेदभावलाई झल्काएको छ । चलचित्रले मिथिला संस्कृतिलाई पनि समेट्दै नेपालको विविधतापूर्ण सांस्कृतिक पहिचानलाई प्रस्तुत गरेको छ ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको यस चलचित्रमा राम र सीताका पात्रहरूले क्रमशः मधेसी र पहाडी समुदायका युवाहरूको प्रतिनिधित्व गरेका छन् । चलचित्रले यी दुई पात्रबीचको प्रेम कथामार्फत समाजमा विद्यमान विभेदका पर्खाललाई तोड्ने प्रयास गरेको देखिन्छ ।
सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुरलगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रका विभिन्न पुस्ताका कलाकारहरूलाई एकै मञ्चमा ल्याएको छ । अमितेश शाहले विशेष भूमिका निभाएका छन् ।
ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
ट्रेलर: