काठमाडौं – सन् १९९० को दशकमा भुटानबाट विस्थापित भएका भुटानी शरणार्थीको पीडा र सङ्घर्षलाई पर्दामा उतार्ने लक्ष्यका साथ ‘ल्हो–छाम्पा’ चलचित्र निर्माण हुने भएको छ । नक्षत्र लाइभ म्युजिकका अर्जुन सुवेदीले निर्माण गर्ने यस चलचित्रले भुटानबाट नेपाली भाषीलाई लखेटिएको अवस्था, शरणार्थी शिविरको कष्टकर जीवन र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई चित्रण गर्नेछ ।
आफूले भोगेका कठिन परिस्थितिहरूलाई भावी पुस्ताका लागि दस्तावेजीकरण गर्ने उद्देश्यले चलचित्र निर्माणमा जुटेको निर्माता सुवेदीले बताएका छन् । ‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हामीले भोगेका पीडा र सङ्घर्षलाई आउँदा पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित राख्न चाहन्छौँ,’ उनले भने, ‘यद्यपि, यो कथावस्तुलाई हामी रमाइलो ढङ्गले प्रस्तुत गर्नेछौँ ।’
चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गर्नेछन् । उनको यो तेस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । निर्देशक केसीका अनुसार, यो चलचित्रले मानिसको स्मृति र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्नेछ । ‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पछ्याइरहन्छ,’ उनले भने, ‘यो चलचित्रले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ । सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्नेछ ।’
चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुन पोखरेलको सङ्गीत रहनेछ । सङ्गीतकार पोखरेलले चलचित्रको कथासँग मेल खाने गरी गीत तयार गर्ने बताएका छन् । चलचित्रका लागि कलाकार तथा प्राविधिकको टुङ्गो भने अझै लागेको छैन । निर्माता सुवेदीले केही दिनभित्रै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन् । उनले चलचित्रको छायाङ्कन वैशाखको दोस्रो हप्तादेखि सुरु गर्ने योजना रहेको बताएका छन् ।